आजको मौसम कस्तो रहला ?
प्रकाशित मिति
२०८२ फाल्गुन १८ गते, सोमबार ०७:३६
१८ फाल्गुन,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग ले हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ।
तराईका केही स्थानमा तुँवालो लागेको छ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ। आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ। ती प्रदेशका पहाडी क्षेत्र तथा बाँकी हिमाली भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थान साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी प्रदेशका पहाडी तथा हिमाली एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले मौसमका कारण हुन सक्ने प्रभावप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिकृया