छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास
प्रकाशित मिति
२०८२ कार्तिक १० गते, सोमबार ०७:३७
कात्तिक १०, २०८२ काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीहरूको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता अभिवृद्धि गर्ने, मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।”
उनले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रामा सहयोग पुर्याउने पनि उल्लेख गरे। सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै छठी माताको पूजा–अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बस्ने परम्परा छ। जनविश्वासअनुसार, छठको व्रत विधिपूर्वक सम्पन्न गर्दा मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट हट्ने मान्यता रहेको छ।
राष्ट्रपति पौडेलले भनेका छन्, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जलाशयमा रही अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिई पूजा आराधना गर्ने यो पर्वले मानिसमा प्रकृतिप्रतिको दायित्व, पर्यावरणीय चेतना र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुर्याउँछ।”








प्रतिकृया