राष्ट्रिय सम्मानसहित विपिनको शवयात्रा, इजरायली प्रतिनिधि सहभागी
प्रकाशित मिति
२०८२ कार्तिक ४ गते, मंगलवार ०९:११
कात्तिक ४, २०८२ काठमाडौं– इजरायलमा हमासको हिरासतमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शवयात्रा आज बिहान भीमदत्त नगरपालिकाबाट सुरु भएको छ। महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिने छ।
शवयात्रामा नेपालका लागि इजरायली राजदूतसमेत सहभागी भएका छन्। शवयात्रामा स्थानियबासी, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र जोशीका आफन्तहरूको ठूलो उपस्थिति रहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जोशीको अन्त्येष्टि धार्मिक परम्परा अनुसार गरिने जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरीले राष्ट्रिय सम्मानस्वरूप सलामी अर्पण गर्नेछ।
विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। त्यसयता उनको अवस्थाबारे अन्योल रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
उनको पार्थिव शरीर सोमबार नेपाल ल्याइएको थियो। नेपाली सेनाको टोलीले शवलाई धनगढीमा सम्मानपूर्वक परिवारलाई बुझाएको थियो।








प्रतिकृया