विपिन जोशीको शव सैनिक अस्पतालमा, डिएनए पुष्टिपछि इजरायलले नेपाल पठाउने
प्रकाशित मिति
२०८२ आश्विन २८ गते, मंगलवार ०९:२८
असोज २८,२०८२ काठमाडौं– हमास लडाकु समूहद्वारा बन्धक बनाइएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) मार्फत इजरायली सेनालाई हस्तान्तरण गरिएको छ। शव हाल इजरायलको एक सैनिक अस्पतालमा राखिएको दूतावासले जनाएको छ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार, शव पहिचानका लागि आवश्यक पर्ने डिएनए परीक्षण लगायतका प्रक्रिया पूरा भएपछि मात्र नेपाल पठाउने प्रक्रिया सुरु हुनेछ।
राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग कुरा गर्दै भने, “हमासले विपिन जोशीको शव भनेर बुझाएको भए पनि डिएनए परीक्षण पछि मात्र त्यसको औपचारिक पुष्टि हुनेछ। परीक्षण रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ। त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया अघि बढ्छ।”
दूतावासका अनुसार, इजरायली सरकारले नै शवलाई कफिनमा बन्द गरी नेपाल पठाउने व्यवस्था गर्नेछ। सो प्रक्रिया पूरा हुन अझै केही दिन लाग्न सक्ने अनुमान छ।
२३ वर्षीय विपिन जोशी अध्ययनका सिलसिलामा इजरायल गएका थिए। गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धकमा परेका थिए। सो दिन हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई जिवितै कब्जामा लिइएको थियो।
करीब एक वर्षपछि इजरायल र हमासबीच भएको युद्धविरामको समयमा विपिनको मृत्यु भएको औपचारिक पुष्टि गरिएको हो। मंगलबार बिहान हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो।








प्रतिकृया