जेनजी आन्दोलनबाट क्षति बीमा दाबी करिब ३० अर्ब पुग्यो
प्रकाशित मिति
२०८२ आश्विन २ गते, बिहीबार ११:५६
असोज २, २०८२ काठमाडौं- भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनका कारण भएको जनधन तथा सम्पत्तिको क्षतिपछि बीमा कम्पनीहरूमा दाबी माग करिब ३० अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनपछि बीमा कम्पनीहरूमा प्राप्त दाबीहरू हालसम्मकै ठूलो दाबीमध्ये एक हो।
उक्त आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिहरूमा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। यस्ता घटनाले निर्जीवन बीमा कम्पनीहरू र पुनर्बीमा कम्पनीहरूमा ठूलो दायित्व सिर्जना गराउने देखिएको छ।

नेपाल बीमा प्राधिकरणका एक अधिकारीले भने, “अहिलेसम्मको प्रारम्भिक तथ्यांकअनुसार बीमा दाबी करिब ३० अर्ब रुपैयाँ पुगेको छ। तर घटनास्थलको पूर्ण मूल्यांकन अझै बाँकी भएकाले यो रकम अझ बढ्न सक्ने सम्भावना छ।”

बीमा दाबीहरूमा मुख्यतः सवारी साधन, भवन, पसल, उद्योग तथा गोदामहरूमा भएको क्षति समावेश छन्। आन्दोलनका कारण धेरै उद्योग तथा व्यवसाय केही दिनसम्म ठप्प भएका थिए, जसले थप आर्थिक क्षति निम्त्याएको छ।
बीमा क्षेत्रका विज्ञहरूले यति ठूलो बीमा दाबीले बीमा कम्पनीहरूको वित्तीय स्थितिमा दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्। पुनर्बीमा कम्पनीहरूसँगको पुनर्बीमा सम्झौताअनुसार कति दायित्व उनीहरूले बहन गर्छन् भन्ने विवरण प्रष्ट हुन बाँकी छ।
यसबीच, नेपाल बीमा प्राधिकरणले बीमित व्यक्तिहरूलाई आवश्यक कागजात पेस गरी दाबी प्रक्रियालाई छिटो टुंग्याउन आग्रह गरेको छ।




प्रतिकृया