• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

जीवन बीमा कम्पनीहरूको लगानी साढे सात खर्ब नाघ्यो

प्रकाशित मिति

२०८२ भाद्र ४ गते, बुधबार ०४:४१

भदौ ४,२०८२ काठमाडौं – नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा कुल ७ खर्ब ५७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेका छन्।

अघिल्लो वर्षसम्म मुद्दती निक्षेपमा सीमित बीमा कम्पनीहरूले हाल लगानीको दायरा विस्तार गर्दै विभिन्न क्षेत्रमा पूँजी परिचालन गर्न थालेका छन्। बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाअनुसार कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त क वर्गका बैंकहरूको मुद्दती निक्षेपमा ३० प्रतिशत, नेपाल सरकार, प्रदेश वा स्थानीय सरकार तथा राष्ट्र बैंकको ऋणपत्रमा २५ प्रतिशत, ख वर्गका बैंक तथा वित्तीय संस्थामा १० प्रतिशत, ग वर्गको मुद्दती निक्षेपमा ५ प्रतिशत, घरजग्गामा १० प्रतिशतसम्म लगानी गरेका छन्।

Kamana Sewa

त्यसैगरी, सूचीकृत कम्पनीहरूको साधारण शेयरमा १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाका अग्राधिकार शेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ३० प्रतिशत र नागरिक लगानी कोषमा ५ प्रतिशतलगायत क्षेत्रमा समेत लगानी गरिएको छ।

Classic Tech Desktop

बीमा प्राधिकरणको तथ्यांकअनुसार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लगानी विस्तार गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा मात्र १ खर्ब ९२ अर्ब ७० करोड ४० लाख रुपैयाँ लगानी गरेको छ।

दोस्रो स्थानमा एलआइसी नेपाल रहेको छ जसले १ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ। हिमालयन लाइफ इन्स्योरेन्सले ७९ अर्ब ११ करोड रुपैयाँभन्दा बढी लगानी गर्दा नेशनल लाइफ इन्स्योरेन्सले ७१ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेको छ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनी (सरकारी स्वामित्व) ले ६२ अर्ब ६ करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ४६ अर्ब ६१ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४१ अर्ब ३४ करोड रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ३१ अर्ब ५२ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले २४ अर्ब १४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ अर्ब ५ करोड रुपैयाँ लगानी गरेका छन्।

त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १९ अर्ब ८८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ अर्ब ८५ करोड रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले १७ अर्ब ५२ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन्।

जीवन बीमा कम्पनीहरूले सुरक्षित मात्र नभई उच्च प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रमा समेत लगानी विविधिकरण सुरु गरेका छन्। हालै नेशनल लाइफ इन्स्योरेन्सले पाकिस्तानी बैंक हबिब को स्वामित्वमा रहेको हिमालयन बैंकको शेयर खरिद गरेको घटनालाई लगानी विस्तारको नवीनतम उदाहरणका रूपमा हेरिएको छ।

बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूको लगानी निरन्तर विस्तार भई पूँजी बजार र अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ।

प्रतिकृया