लिपुलेक हुँदै भारत–चीन व्यापार सुरु गर्ने सहमति, नेपाललाई छैन जानकारी
प्रकाशित मिति
२०८२ भाद्र ४ गते, बुधबार ०४:२७
भदौ ४,२०८२ काठमाडौं – भारत र चीनबीच नेपाली भूमि लिपुलेक पास हुँदै द्विपक्षीय व्यापार सुरु गर्ने सहमति भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा मंगलबार नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको वार्तापछि दुवै देशले यो सहमति गरेका हुन्।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू — लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।”

यसअघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१५ को चीन भ्रमणका क्रममा लिपुलेक हुँदै व्यापार गर्ने सहमति भएको थियो। नेपाललाई जानकारी नदिई नेपाली भूमिमा व्यापार गर्ने विषयमा सहमति भएपछि त्यसबेला नेपाल सरकारले कडा आपत्ति जनाएको थियो।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट करिब ५६ किलोमिटर भित्र पर्ने नेपाली भूभाग हो, जसलाई नेपालले आफ्नो भूमि दाबी गर्दै आएको छ। यसरी पुनः भारत–चीनबीच लिपुलेकमार्ग प्रयोग गर्ने सहमति भएपछि नेपालले औपचारिक प्रतिक्रिया दिने अपेक्षा गरिएको छ।




प्रतिकृया