• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

लुम्बिनीमा नेपाल आयल निगमको नयाँ आधुनिक इन्धन डिपो निर्माण हुने

प्रकाशित मिति

२०८२ भाद्र ४ गते, बुधबार ०४:०८

भदौ ४,२०८२ काठमाडौं – नेपाल आयल निगम लिमिटेडले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकास्थित करिब साढे २५ बिघा क्षेत्रमा नयाँ र अत्याधुनिक सुविधा सम्पन्न इन्धन डिपो निर्माण गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टको विशेष निर्देशनमा चालु आर्थिक वर्ष २०८२/८३ बाट निर्माण कार्य सुरु हुने भएको हो।

National Life

काठमाडौं विश्वविद्यालयको सहकार्यमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निगमलाई हस्तान्तरण गरिएको छ। २०८१ मंसिर १२ गते भएको सम्झौताअनुसार तयार गरिएको डिपिआर हस्तान्तरणसँगै परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढेको निगमले जनाएको छ।

रोहिणी र ओमसतिया गाउँपालिकामा हालसम्म साढे ११ बिघा जग्गा खरिद भइसकेको छ भने थप साढे ८ बिघा पर्ति जग्गा निगमको स्वामित्वमा ल्याउन आवश्यक पहल भइसकेको छ। त्यस्तै, करिब साढे ५ बिघा जग्गा जग्गा प्राप्ती ऐन ०३४ अनुसार प्रक्रिया थालिएको छ। यसरी जम्मा साढे २५ बिघा क्षेत्रमा आधुनिक डिपो निर्माण हुने छ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ डिपोमा कर्मचारी आवास गृह, आर्मीका लागि छुट्टाछुट्टै आवास, ट्यांकर चालक आराम गर्ने संरचना, सुरक्षा पोस्ट, ट्यांकर पार्किङ क्षेत्रलगायतका पूर्वाधार निर्माण गरिनेछ। परियोजनाको अनुमानित लागत कर बाहेक पाँच अर्ब ७९ करोड ३० लाख रुपैयाँ रहेको निगमले जनाएको छ।

हाल रुपन्देहीको भलवारीमा सञ्चालनमा रहेको प्रादेशिक डिपो साँघुरो क्षेत्रफल र न्यून भण्डारण क्षमताका कारण माग धान्न नसक्ने अवस्थामा पुगेको छ। भलवारी डिपोमा पेट्रोलका लागि ५१९ किलोलिटर, डिजेलका लागि ३,०४० किलोलिटर र मट्टितेलका लागि २८० किलोलिटर मात्र भण्डारण क्षमता छ। साथै, घना बस्तीबीचको अवस्थितिले सुरक्षा जोखिम बढाएपछि स्थानीयले निरन्तर स्थानान्तरणको माग गर्दै आएका थिए।

यी चुनौती समाधानका लागि निगमले भलवारीस्थित डिपोलाई सारेर फराकिलो क्षेत्रमा आधुनिक र सुरक्षित डिपो निर्माण गर्न लागेको हो। नयाँ डिपो निर्माणपछि लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको आपूर्ति अझ सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।

प्रतिकृया