घट्यो नेप्से परिसूचक , कति भयो कारोबार ?
प्रकाशित मिति
२०८२ भाद्र ४ गते, बुधबार ०३:३७
भदौ ४,२०८२ काठमाडौं – लगातार दुई दिन सामान्य अंकले बढेको नेप्से परिसूचक बुधबार भने ओरालो लागेको छ। यस दिन नेप्से परिसूचक ९.७० अंकले घटेर २७६७.२० विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१० अंक, फ्लोट इन्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ अंकले घटेका छन्।
कारोबार रकम पनि यस दिन केही घटेको छ। मंगलबार ५ अर्ब ६३ करोडको शेयर किनबेच भएको बजारमा बुधबार ३२३ स्टकको ५३ हजार ८५३ पटकको कारोबारमार्फत १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भई ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ।
यस दिन विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा कारोबार भयो। २९ रुपैयाँ २० पैसा बढ्दै कम्पनीको शेयरमूल्य ३२१ रुपैयाँ ३० पैसामा बन्द भएको हो। त्यस्तै, चन्द्रागिरी हिल्सको शेयर करिब ७.५ प्रतिशतले बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ ऋणपत्रको मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य भने ९.०३ प्रतिशतले घट्दै यस दिन सर्वाधिक घाटा बेहोरेको कम्पनी बन्यो।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको २५ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भयो। त्यसपछि हिमालयन रि इन्स्योरेन्स (साढे २१ करोड) र चन्द्रागिरी हिल्स (करिब साढे १९ करोड) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
१३ उपसमूहमध्ये बुधबार २ उपसमूह मात्र हरियालीमा रहे। होटल तथा पर्यटन उपसमूह २.०३ प्रतिशतले र म्युचुअल फण्ड उपसमूह सामान्य अंकले बढेका हुन्। बाँकी ११ उपसमूह ओरालो लागे भने व्यापार उपसमूह १.०६ प्रतिशतले घट्दै सर्वाधिक घाटामा परेको दिन रह्यो।








प्रतिकृया