एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर आवेदन म्याद थप
प्रकाशित मिति
२०८२ श्रावण १३ गते, मंगलवार ०९:५९
श्रावण १३ ,२०८२ काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले माग बमोजिम आवेदन नपरेपछि म्याद थप गर्दै अब साउन २० गतेसम्म आवेदन दिन सकिने जनाएको हो।

कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्तापूँजीको शतप्रतिशत अनुपातमा १ः०.४२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले असार २५ गतेदेखि साउन १३ गतेसम्मका लागि कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता रु. १०० अंकित दरका हकप्रद सेयर जारी गरेको थियो।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यसैले जेठ १५ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरू मात्र यो हकप्रद सेयरको लागि योग्य छन्। योग्य सेयरधनीहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड तथा मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा (चिप्लेढुङ्गा), नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, एशियन लाइफ इन्स्योरेन्सको आफ्नै कार्यालयबाट समेत आवेदन गर्न सकिनेछ।

यसबाहेक, धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी-आसवा मार्फत पनि सहजै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।




प्रतिकृया