स्वास्थ्य बीमा नवीकरण नगर्नेले तिर्नुपर्ने भयो चारगुनासम्म शुल्क
प्रकाशित मिति
२०८२ श्रावण ९ गते, शुक्रबार १०:५५
श्रावण ९,२०८२ काठमाडौं । सरकारले स्वास्थ्य बीमा समयमै नवीकरण नगर्ने सेवाग्राहीलाई भारी आर्थिक भार लगाउने नीति ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार बीमा नवीकरणको म्याद छुटाउनेले अब सुविधाको सट्टा अतिरिक्त रकम तिर्नुपर्नेछ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार, बीमा म्याद सकिएको ३ महिनाभित्र नवीकरण गरेमा नियमित प्रिमियमसँगै ३५० रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ। हाल सरकारले ५ जना परिवारका लागि ३ हजार ५०० रुपैयाँ प्रिमियम निर्धारण गरेको छ, जसबाट एक लाख रुपैयाँसम्मको सेवा पाउन सकिन्छ। समय कटाएर ६ महिनाभित्र नवीकरण गर्दा भने ४ हजार ५५० तिर्नुपर्ने हुन्छ । यस्तै बीमाको म्याद समाप्त भएको ६ महिनादेखि एक वर्षभित्र नवीकरण गर्दा ५ हजार २५० तिर्नुपर्ने बोर्डले जनाएको छ ।

एक वर्षपछि नवीकरण गर्दा भने ७ हजार तिर्नुपर्ने हुन्छ । यस्तै दुई वर्षपछि नवीकरण गर्दा १० हजार ५००, तीन वर्षसम्म १४ हजार र तीन वर्षभन्दा पछि १७ हजार ५०० रकम तिनुपर्ने हुन्छ । नवीकरण गर्नेसम्बन्धी कार्यविधि बोर्ड बैठकबाट २४ असारमा स्वीकृत भइसकेको छ । स्वास्थ्य बीमा बोर्डका अधिकारीका अनुसार बीमामा आवद्ध हुने नागरिक थप्न जति गाह्रो छ, उनीहरूलाई टिकाउन (हरेक वर्ष नवीकरण गराउन) त्यति नै चुनौतीपूर्ण छ ।





प्रतिकृया