• १६ असोज २०८३, शुक्रबार
  • २ः२९ दिउँसो

संसद्‌मा प्रधानमन्त्रीसँग सांसदहरूको तीव्र प्रश्न वर्षा, ओलीले दिए विस्तृत जवाफ

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ०४:१८

श्रावण ७,२०८२ काठमाडौं । संसद्‌मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक मुद्दा र निर्वाचन क्षेत्रका विविध समस्याका विषयमा सांसदहरूले प्रश्न गरेका छन्। प्रधानमन्त्री ओलीले अधिकांश प्रश्नको विस्तृत जवाफ दिएका छन् भने केहीमा पहिले नै जवाफ दिइसकेको भन्दै पन्छिएका छन्।

National Life

सांसद माधव सापकोटा, महेन्द्रबहादुर शाही, मुक्ता कुमारी यादव लगायतका सांसदहरूले युवा पलायनबारे चिन्ता व्यक्त गरे। सापकोटाले एसईई र कक्षा १२ का विद्यार्थीमध्ये अधिकांशको अध्ययन तथा रोजगारीको गन्तव्य विदेश भएको तथ्याङ्क प्रस्तुत गर्दै “देशमै सम्भावना छ” भन्ने अनुभूति कसरी दिलाउने भनेर प्रश्न गरे।

जवाफमा प्रधानमन्त्री ओलीले “स्वदेशमै रोजगारी सिर्जना र वैदेशिक रोजगारीबाट फर्किएकालाई सीप अनुसार उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने” सरकारको नीति भएको बताए। २०८२–९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरिएको स्मरण गराउँदै उनले “रेमी परियोजना”, “स्टार्टअप”, र “राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम” लगायतका योजनाहरूको जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद महेन्द्रबहादुर शाहीले कर्णालीको पिछडिएको अवस्था र दीर्घकालीन विकास योजनाबारे प्रश्न गरे। जवाफमा प्रधानमन्त्रीले कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइएको बताए। साथै, सडक, झोलुङ्गे पुल, वैकल्पिक राजमार्ग, र उच्च मूल्यका बाली प्रवर्द्धनलगायत कार्यक्रम कर्णालीमा सञ्चालनमा रहेको जानकारी गराए।

सांसद मैना कार्की र मीना तामाङले द्वन्द्व पीडित, बेपत्ता व्यक्तिको न्याय र आयोग गठनबारे प्रश्न गरे। जवाफमा प्रधानमन्त्री ओलीले “सरकार शान्ति प्रक्रियाको टुंगोमा पुग्न गम्भीर छ” भन्दै आयोगहरू संविधान तथा ऐनअनुसार गठन गरिएको स्पष्ट पारे।

सांसद महेशकुमार बर्तौलाले हेटौंडा–काठमाडौं पोडवे निर्माणबारे प्रश्न गरे। प्रधानमन्त्री ओलीले अध्ययनका लागि बजेट विनियोजन भइसकेको र सम्भाव्यता देखिएमा पोडवे निर्माण अघि बढाइने बताए।

सांसद मेटमणि चौधरीले दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नतिबारे जिज्ञासा राखे। जवाफमा प्रधानमन्त्रीले बजेट विनियोजन गर्दै निरन्तर प्राथमिकतामा राखिएको जानकारी दिए।

सांसद मोहन आचार्यले रसुवागढी नाका र एकीकृत भन्सार कार्यालयको ढिलाइबारे प्रश्न गरे। प्रधानमन्त्री ओलीले ८१% भौतिक प्रगति भएको र बाढीबाट क्षति पुगेका संरचनाहरूको शीघ्र पुनर्निर्माण भइरहेको बताए।

सांसद महेश बस्नेतले पूर्वी इलामका पर्यटकीय तथा जडीबुटी क्षेत्रबारे उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले सुम्निमा पारुहाङ स्मृति पार्क र किराँत म्युजियमका लागि ३ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

भ्रष्टाचारसम्बन्धी प्रश्नमा प्रधानमन्त्री ओलीले “न म गर्छु, न गर्न दिन्छु” भन्ने आफ्नो पुरानै संकल्प दोहोर्‍याउँदै, कानून बमोजिम कसैलाई उन्मुक्ति नदिने स्पष्ट पारे।

संसद्मा उठेका प्रश्नहरूमा प्रधानमन्त्री ओलीले रोजगार, पूर्वाधार, संक्रमणकालीन न्याय, भ्रष्टाचार नियन्त्रणदेखि स्मार्ट प्रविधि र द्वन्द्व पीडितका अधिकारसम्मको विस्तृत जवाफ दिएका छन्। केही सवालमा भने पहिले नै उत्तर दिइसकेको भन्दै संक्षिप्त उत्तरमा सीमित भए।

प्रतिकृया