सभामुख घिमिरे: नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने
प्रकाशित मिति
२०८२ श्रावण ४ गते, आईतवार ०३:३३
श्रावण ४ ,२०८२ काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने बताएका छन्।
आईतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रमअन्तर्गत विभिन्न मुलुकबाट आएका नेपाली कलाकारसँगको साक्षात्कारमा सभामुखले यस्तो बताएका हुन्। उनका अनुसार संसद् भवनको छिटो निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विविध प्राविधिक तथा व्यवस्थापकीय कारणले गर्दा निर्माण प्रक्रिया लम्बिएको छ।
सभामुख घिमिरेले बानेश्वरको सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसद्को सभा सञ्चालन भइरहेको उल्लेख गर्दै पुरानो भवनको संरचना र सांसद संख्याका कारण त्यहाँबाट सभा सञ्चालन सम्भव नभएको जानकारी दिए।
उनले कलाकारिताको माध्यमबाट विश्वभर फैलिएका नेपाली समुदायलाई नेपाली संस्कृति र पहिचानसँग जोड्न सकिने धारणा राखे। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोका कलाकारहरू सहभागी थिए, जसको आयोजना इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गरेको हो।








प्रतिकृया