• २ असोज २०८३, शुक्रबार
  • ३ः१६ दिउँसो

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

प्रकाशित मिति

२०८१ चैत्र १४ गते, बिहीबार ०३:३६

चैत्र १४, २०८१ काठमाडौँ: खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरेका छन् ।

National Life

मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रेरित गर्न विशेष आग्रह गरे । उनले भने, “नेपाल सरकारले विदेशी लगानीकर्ताहरूको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ ।”

मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा निकै प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर झन् बलियो र मैत्रीपूर्ण बन्दै गएको बताए । उनले भने, “भूकम्प लगायत विभिन्न प्राकृतिक विपत्तिहरूमा जापानी जनता, सरकार, गैरसरकारी संस्था तथा विश्वविद्यालयहरूबाट प्राप्त सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनता आभारी छन् । नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्व दिँदै आएको छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री यादवले जापान सरकारले विगतदेखि नै नेपालका खानेपानी परियोजनाहरूमा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजना अन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराए । त्यस्तै, पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालसालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको महत्वपूर्ण भूमिका रहेकोमा उनले जापान सरकारलाई विशेष धन्यवाद दिएका थिए ।

सोही अवसरमा राजदूत माएदा तोरूले जापान सरकार नेपालमा विगतदेखि नै विभिन्न विकासका परियोजनाहरूमा संलग्न रहँदै आएको र आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने हेतुले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ ।”

प्रतिकृया