• २१ जेठ २०८३, बिहीबार
  • ४:०० बेलुका

‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

प्रकाशित मिति

२०८० चैत्र २८ गते, बुधबार ०१:१५

चैत्र २८, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।

Kamana Sewa

“देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कार्यहरू एवं सङ्कटको समयमा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ को रूपमा विश्वसामु परिचित गराएको छ ।”

Classic Tech Desktop

सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रहरूको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई आफूले शान्ति स्थापना कार्यमा थप महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले उक्त कार्य ऐतिहासिक सफलता भएको उल्लेख गर्नुभयो ।

आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल बहुआयामिक, सबल तथा सक्षम सङ्गठनको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्गठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतहरूलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त भइरहोस् भन्ने कामना व्यक्त गर्नुभयो ।

बहुध्रुवमा विभक्त अन्तर्राष्ट्रिय परिवेशको प्रत्यक्ष वा परोक्ष असर राष्ट्रिय सुरक्षामा समेत परिरहेको परिस्थितिमा उल्लेख गर्दै उहाँले नेपाली सेनाले राष्ट्रिय हित तथा स्वार्थहरूको संरक्षण र संवर्द्धन गर्न समयसापेक्ष सुरक्षा नीतिका आधारमा अर्थपूर्ण परिणाम हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

“सुरक्षा र विकास एकअर्काका परिपूरक हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “समुन्नतिको राष्ट्रिय अभिलाषा पूरा गर्न प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न अपरिहार्य हुन्छ, जुन कार्यभार नेपाली सेनाले पूरा गर्दै आएको छ ।”

नेपालका सामु बहुआयामिक द्वन्द्वहरू, जलवायु परिवर्तनका असरहरू तथा विभिन्न महामारीहरूजस्ता जटिल सुरक्षा चुनौती र विपद्का जोखिमहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आंकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने नेतृत्व अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले वर्तमानमा शिक्षार्थीको सङ्ख्या बढ्दै गए पनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने सङ्गठनको प्रस्तावप्रति समर्थन गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग हुने जानकारी गराउनुभयो ।

प्रतिकृया