• ५ साउन २०८३, मंगलबार
  • ५:४२ बेलुका

आन्तरिक शुद्धिकरणलाई आत्मसात् गर्दै उत्कृष्ट ढंगले जिम्मेवारी वहन गर्नुपर्ने: प्रहरी महानिरीक्षक कुँवर

प्रकाशित मिति

२०८० चैत्र १३ गते, मंगलवार ०१:५३

चैत्र १३, २०८० काठमाडौँ: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले संगठनले लिएको नीति अनुरूप आन्तरिक शुद्धिकरणलाई आत्मसात् गर्दै प्रहरी अधिकृतहरूले तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्न कटिवद्ध हुनुपर्ने बताउनुभएको छ ।

हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले आफ्नो जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने बताउनुभएको हो ।

Kamana Sewa

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Classic Tech Desktop

प्रहरी महानिरीक्षक कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै लागूऔषध नियन्त्रण तथा रोकथाम, फरार अपराधी पक्राउ, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । विपद्का घटना सम्बन्धित निकायसँग समन्वय गरी कार्य सम्पादन गर्नुपर्ने तथा भिड नियन्त्रणमा बल प्रयोगको सिद्धान्तलाई आत्मसात् गरी उचित प्रहरी परिचालन तथा व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । हिरासत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने, आफ्नो बोली वचनमा सुधार गर्दै नागरिकमैत्री व्यवहार गर्नुपर्ने, संगठनप्रति निष्ठावान हुनुपर्ने, प्रचलित कानूनलाई ध्यानमा राखेर मातहत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

प्रतिकृया