• ७ साउन २०८३, बिहीबार
  • ९:१४ बिहान

घोडाको फेरिएको काम

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०४:५४

कात्तिक २३, २०८० म्याग्दी : सडक र सवारी साधनको पहुँच नुहँदा छिटो गन्तव्यमा पुग्न घोडाको प्रयोग हुन्थ्यो । पहिले घोडा चढ्नेहरु अहिले गाडी वा मोटरसाइकल प्रयोग गर्छन् । घरछेउमा घोडा बाँध्ने तबेला अहिले गाडी र मोटरसाइकल राख्ने पार्किङस्थल बन्ने गरेका छन् । टोल टोलमा मोटर गुड्ने सडक पुगेसँगै घोडा–खच्चर विस्थापित हँुदै गएका छन् । पर्यटकीयस्थलमा भने घोडाको काम फेरिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका घोडा व्यवसायी याम पुन बताउनुहुन्छ ।

“पहिले गाउँका सम्पन्न व्यक्ति चढेर हिँड्ने घोडा अहिले पर्यटकको यातायातको साधन बनेको छ,” उहाँ भन्नुहुन्छ “असोज– कात्तिक र चैत–वैशाखको याममा घोडालाई पर्यटक बोक्न भ्याइनभ्याइ हुन्छ ।” म्याग्दीको घोडेपानी, कास्कीको उल्लेरी, नाङ्गीठाटी, घान्द्रुक, टाढापानी, चुइने, मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्ड पुग्न हिँड्न नसक्ने पर्यटकका लागि घोडा सहयोगी बनेका छन् । घोडेपानी–घान्द्रुक क्षेत्रमा पर्यटक बोक्न एक सयभन्दा बढी घोडा रहेका छन् । घोडेपानीका घोडा व्यवसायी विरेन गर्बुजा पुनले घोडेपानीबाट पुनहिल जान रु तीन हजार पाँच सय र अन्य ठाउँमा जाँदा प्रतिदिन रु एक सयका दरले शुल्क लिने गरिएको बताउनुहुन्छ ।

Kamana Sewa

“बालबालिका र वृद्धबृद्धा पर्यटकले घोडा प्रयोग गर्छन् । रमाइलोका लागि युवा र वयस्क उमेरका पर्यटकले पनि घोडाचढी सुविधा लिन्छन्,” उहाँ भन्नुहुन्छ, “शुल्कको केही प्रतिशत रकम पदमार्ग मर्मत र घोडा दौड प्रतियोगिताका लागि कोषमा राखेका छौँ ।” घोडेपानी घोडा व्यवसायी समिति अन्तर्गत हाल १२ वटा घोडा छन् । घोडा बेरोजगार युवाका लागि आम्दानीको स्रोत बनेको छ ।

Classic Tech Desktop

बिरामी परेका र जङ्गलमा फसेका पर्यटकको उद्धारको काममा पनि घोडा प्रयोग हुने गरेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुन बताउनुहुछ । काठमाडौँकी जिया थापा गत हप्ता कास्कीको उल्लेरी हँुदै घोडा चढेर घोडेपानी घुम्न आउनुभएको थियो । उकालोमा घोडा चढेर यात्रा गर्न पाउँदा रमाइलो महसुस भएको उहाँ प्रतिक्रिया दिनुहुन्छ । मुस्ताङको झारकोटदेखि मुक्तिनाथ मन्दिरसम्म जानका लागि पनि घोडाचढी सुविधा छ ।

एक पटक यात्रा गरेको रु चार सय शुल्क लिने गरेको घोडा व्यवसायी हर्क गुरुङको भनाइ छ । बयाननब्बे वटा घोडा मुक्तिनाथमा तीर्थयात्री बोक्न प्रयोग भएका छन् । एक दिनमा चारदेखि छ पटकसम्म एउटा घोडाले पालो पाउने गरेको उहाँ बताउनुहुन्छ । एउटा घोडाको मूल्य रु एक लाख पचास हजारदेखि रु दुई लाखसम्म पर्छ । मुस्ताङ र ढोरपाटन क्षेत्रका घोडा मानिस चढ्न मिल्ने अग्ला र बलिया मानिन्छन् । घोडा संरक्षण र पर्यटन प्रर्वद्धन गर्न घोडा दौडप्रतियोगिता आयोजना हुने गरेको छ ।
मुक्तिनाथमा यार्तुङ पर्व, घान्द्रुकमा नयाँ वर्षको अवसरमा आयोजना गरिने घोडादौड प्रतियोगिता विशेष आकर्षणको रुपमा छन् । घोडा दौडप्रतियोगिताले पर्यटक भित्र्याउन सहयोग पुगेको स्थानीय पर्यटन व्यवसायीहरुको भनाइ छ ।

प्रतिकृया