तीन वर्षमा सोह्र हजारले गरे आत्महत्या
प्रकाशित मिति
२०७६ श्रावण ३० गते, बिहीबार १०:३७
काठमाडौँ, विश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् ।
नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो । जसमध्ये सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको छ । तीन वर्षको अवधिमा झुन्डिएर मात्रै ११ हजार ९४१ जना अर्थात् करिब १२ हजारले आत्महत्या गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३/७४ मा मात्रै ३ हजार ७६१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै, २०७४/७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

झुन्डिएर पछि सबैभन्दा बढी आत्महत्या विष सेवनबाट हुने गरेको प्रहरी तथ्यांक देखाउँछ । गत तीन वर्षको पहिलो वर्षमा १ हजार २१५, दोस्रो वर्षमा १ हजार ३६३ तथा गत आर्थिक वर्षमा १ हजार ३२० जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । राजधानी दैनिकबाट साभार




प्रतिकृया