• ३१ भदौ २०८३, बुधबार
  • ५ः१४ बेलुका

तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु

प्रकाशित मिति

२०७६ श्रावण २० गते, सोमबार ०१:३२

काभ्रेपलाञ्चोक, तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो ।

National Life

तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गर्नुभएको हो । “तेमाल क्षेत्रको पर्यटन विकासमा युवालाई सहभागी गराउने उद्देश्यले हाइकिङ अभियान शुरु गरिएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार यसलाई सरकारले अघि सारेको ‘भ्रमण वर्ष–२०२०’ को पूर्व तयारीका रुपमा समेत लिइएको छ ।

तेमाल गाउँपालिका–७ चापाखोरीबाट शुरु गरिएको हाइकिङ पोखारीनारायणस्थान, याङ्बेलस्थित तोङ्सोम कुण्डमा टुङ्गिएको थियो । हाइकिङ विभिन्न रमणीय डाँडा पार गर्दै चार घण्टाको पैदलपछि सकिन्छ । हाइकिङ शुरुआती अभियानमा ४० जना युवा सहभागी थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद लामाले विदेशी पाहुनासमेतको सहभागितामा आगामी दिनमा हाइकिङ आयोजना गर्दैजाने बताउनुभयो । उहाँले भन्नुभयो, “यो शुरुआत मात्रै हो, यो अभियान भिजिट नेपाल ट्वान्टीट्वान्टी लक्षित हो, यहाँका युवाले पटकपटक सञ्चालन गर्नुहुन्छ ।” उहाँका अनुसार पर्यटनको विकासमा युवालाई अग्रसर बनाउन हाइकिङ अभियान सञ्चालन गरिएको हो ।

हाइकिङका क्रममा स्थानीय डाँडा, गुम्बा, छ्योर्तेन र पर्यटन सम्भावनाका महत्वका विषयमा पर्यटन व्यवसायी कर्ण लामा र ह्रेन्जेन दोर्जे प्रतिष्ठानका अध्यक्ष लिलाबहादुर लामाले युवालाई जानकारी गराउनुभएको थियो । तेमाल गाउँपालिका– २ का वडाध्यक्ष तिमालसिंह तामाङले हाइकिङ अभियानलाई स्थापित गराउन आफूहरु लागेको बताउनुभयो ।

हाइकिङ अभियानलाई स्थानीय नेकपाका नेताकार्यकर्ता, पर्यटन व्यवसायी तथा स्थानीय सामाजिक अभियन्ताले साथ दिएका छन् । हाइकिङ टोलीले तेमाल गाउँपालिका–७ चापाखोरी डाँडामा निर्माण हुन लागेको टुरिजम मेमोरी पार्क, ह्रोसाइबाचे, पोखरी नारायणस्थान मन्दिरलगायत विभिन्न धार्मिकस्थलको अवलोकनसमेत गरेको थियो ।

प्रतिकृया