महोत्तरीमा १८ वर्षीय युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ
प्रकाशित मिति
२०७९ श्रावण २७ गते, शुक्रबार ०३:०४
२७ साउन २०७९,काठमाडौं: महोत्तरीमा १८ वर्षीय युवकको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । चोरी गरेको रकम फिर्ता माग्दा हत्या गरिएको प्रहरीले जनाएका छन्। पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भइ धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जित कुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम ४ घर भई वडा नं। ७ मा डेरा लिई बस्दै आएका २५ वर्षीय सन्तोष कुमार, औरही गाउँपालिका २ पौडेशवर घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा डेरा लिई बस्दै आएका २१ वर्षीय किरण भन्ने प्रमिला महरा र २७ वर्षीय बिगुल मुखिया विन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

असार २० गतेदेखि जनकपुरधाम ७ बाट बेपत्ता भएका १८ वर्षीय अजय भन्ने अर्जुन साहको शव २३ असारमा महोत्तरीको लोहारपट्टी ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा फेला परेको थियो ।
करिव १ बर्षअघि प्रमिला महरा, उनको श्रीमान बिगुल मुखिया र कृष्ण यादव मृतक अर्जुन साहको घरबाट १ लाख नगद तथा सुनका गरगहना चोरी गरेका थिए । करिव ६ महिना पश्चात मृतक अर्जुनका आमाले प्रमिला र कृष्णलाई प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछी तिनीहरुबीच छलफल पछि आपसी सहमति भएको थियो। जस अनुसार बिगुल मुखियाले १ लाख १७ हजार र कृष्णले २ लाख ४६ हजारको तमसुक बनाएर सम्पर्क बिहिन भएका थिए।

करिव २०–२५ दिनअगाडि अर्जुनका आमाले जनकपुरधाममा उनीहरुलाई फेला पारी तमसुक बमोजिम आफ्नो पैसा नतिरे प्रहरीमा उजुर गर्ने भनेपछि आमा र छोराको हत्या गर्ने योजना बनेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।प्रमिला र उनका श्रीमान र कृष्णले आमा र छोराको हत्या गरेर अर्जुनका आमाले लगाएको सुनका गरगहना, घरमा रहेको नगद र उनीहरुसँग बनाएको तमसुक लुट्ने योजना बनाएका थिए।
कृष्णले पूर्व योजना अनुसार आफ्नो दाजु जित कुमार यादव र सन्तोष कुमारलाई अर्जुनलाई मारेर ३० हजार दिने भनेपछी
असार २० गते बिहान जितले अर्जुनलाई फोन गरी लोहारपट्टीको फूलबरिया गाउँमा जाने भनेर ई९रिक्सा रिजर्भमा लिएका थिए । सोही दिन बेलुका जित र सन्तोष अर्जुनको ई-रिक्सामा बसेर लोहारपट्टी ८ भगवानपुर चौर स्थित भ्रमरपुरा बाट लोहारपट्टी जाने भित्री सडक खण्डमा लगि गम्छाले घाँटीमा पासो लगाई ई९रिक्सा भित्रै हत्या गरेर शवलाई सडक देखि पश्चिम पट्टीको नहरमा फाली ई-रिक्सा लिएर उनीहरू फर्केका थिए।
आरोपितहरुले जनकपुरधाम ७ मुसहरी टोलस्थित माँ जानकी सप्लायर्स प्रा।लि।बालुवा डिपो नजिकको हिलो सडकमा ई –रिक्सा छोडेर फरार भएका थिए ।प्रवक्ता विष्टले यस घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतका कार्यालयहरू, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज हाल जनकपुरबाट खटेको संयुक्त प्रहरी टोलीले बिभिन्न पक्षहरूबाट अनुसन्धान गरेपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको बताए। यस सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



प्रतिकृया