चरित्रमाथि शंका गर्दै गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान् पक्राउ
प्रकाशित मिति
२०७९ श्रावण २७ गते, शुक्रबार ०३:३०
२७ साउन २०७९,काठमाडौं: चरित्रमाथि शंका गर्दै गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्।प्रहरीले आफ्नै श्रीमतीको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका–२३ ईटियाही टोलका २६ वर्षीय दिनेशप्रसाद यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवले शुक्रबार बिहान ४ बजे आफ्नी श्रीमती २३ वर्षीय प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।
घटना भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुर जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मृतकका श्रीमान् यादवलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानको क्रममा यादवले आफ्नी श्रीमतीको चरित्रमाथि शंका गर्ने गरेको र सोही विषयलाई लिएर दुवै जनाबीच विवादसमेत हँुदै आएको भन्ने खुलेको उनले बताए।
शुक्रबार बिहान पनि त्यही विषयलाई लिएर श्रीमान् – श्रीमतीबीच विवाद हुँदा यादवले श्रीमतीको घाँटी थिचेर हत्या गरेको कार्कीको भनाइ छ। स्थानीयका अनुसार मृतक प्रतिमा गर्भवती थिइन् । तर, प्रहरी प्रवक्ता कार्की गर्भवती भए नभएको कुरा पोस्टमार्टम रिपोर्टबाटै खुल्ने बताउँदै मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जानकारी दिए। पक्राउ परेका यादवलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको कार्कीले बताए।
प्रतिकृया