• १४ असोज २०८३, बुधबार
  • १०ः३० राती

ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको कमल पोखरी सार्वजनिक नै हुने उच्च अदालतको फैसला

प्रकाशित मिति

२०७९ असार २ गते, बिहीबार ०६:३३

२ असार २०७९,भक्तपुर : मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष पुरानो धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक नै रहेको अदालतले फैसला गरेको छ । आज उच्च अदालत पाटनले कमल पोखरीको मुद्धाको अन्तिम किनारा लगाउदै उक्त पोखरी सार्वजनिक नै रहेको फैसला गरेको हो । अदालत परिसरबाट मध्यपुरथिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले उच्च अदालत पाटनका न्यायाधिसद्धय राजेन्द्र खरेल र रमेश ढकालको संयुक्त इजलालसले भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्दै कमल पोखरी सार्वजनिक रहेको फैसला गरेको जनाए ।

National Life

उनले भने, “कमल पोखरी बिक्री भएपछि बोडेका बासिन्दाले पोखरी जोगाउन संरक्षण समिति बनाएर अभियाननै चाले, भक्तपुर जिल्ला अदालतले २०७५ साल असार १९ गते पोखरी सार्वजनिक भएको फैसला गर्दै संरक्षणलाई आदेश दिए पछि नगरपालिकाले तत्कालै ७५ लाखको बजेट विनियोजन गरेर संरक्षण अभियान थाल्यौ । पाटन उच्च अदालतको प्रत्येक पेशीदेखि हिजो र आजसम्म बोडेका युवा, महिला, जेष्ठ नागरिक, जनप्रतिनिधिदेखि यहाँका बासिन्दाले अदालत परिषर क्षेत्रमा पोखरी सार्वजनिक रुपमा फर्काउन माग गर्दै हात हातमा प्ले कार्ड बोकेर धर्ना दिएका थिए ।


अदालतको फैसला आउने बित्तिकै धर्नामा बसेका स्थानीयवासीमा खुसीयाली छाएको स्थानीयवासी एवं शिक्षासेवी बिरेन्द्र जयनाले बताए । आज दिनभर पूर्व नगर प्रमुख श्रेष्ठ, वर्तमान् नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, ८ नं का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, कमल पोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधर, अन्य जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासी जनताको पक्षमा फैसला आउने आशामा अदालत परिसरमा बसेका थिए । तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को १५ रोपनी ९ आना सार्वजनिक पोखरी २०४२ साल असार ३१ गते पोखरीको रेखदेख गर्ने कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको थियो । स्थानीय गणेशमान चक्रधरको संयोजकत्वमा ऐतिहासिक कमल पोखरी (पलिस्वाँ पुखुः) संरक्षण समितिनै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै मुद्धा दायर गरेका थिए ।


त्यसपछि जिल्ला अदालत भक्तपुरले २०७५ साल असार १९ गते मंगलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको उक्त मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला सुनाउदै पोखरीको संरक्षण गर्न आदेश जारी गरेको थियो । जग्गा खरिद गर्ने पक्ष जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए । अवैध रुपमा दर्ता तथा किनबेच गरि पोखरी पुरेर जग्गा टुक्राउन डोजर आए पछि मात्रै पोखरी बिक्री भएको स्थानीयले चाल पाएका थिए ।


मध्यपुरथिमि नगरपालिकाले दुई वर्ष लगाएर कमल पोखरी संरक्षण अभियान चलाउदै पोखरी सफा गर्ने, पोखरीमा पानी भर्ने वरिपरि ढुङ्गाको पर्खाल निर्माण गर्दै पोखरीको वरिपरि दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक र ऐतिहासिक शैलीमा पुनःनिर्माण गरी बार लगाइएको छ । पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको छ ।


पोखरीमा पाँच लाखको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको, दुई हजार माछाको भुरा छाडेको र पोखरीमा रोपिएको कमलको बिरुवाबाट अहिले फूल फुल्न थालेको छ । पोखरीमा अहिले आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छेड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गर्न पाएको श्रेष्ठले बताए ।


उच्च अदालतको फैसलामा खुसीयाली मनाउदै आज साँझदेखि बोडेमा बाजागाजासहित र्याली प्रर्दशन गरिएको बोडे युवा क्लबका दीलकृष्ण प्रजापतिले जानकारी दिए । उनले वर्तमान् र पूर्व जनप्रतिनिधि, स्थानीयवासीहरुले धिमे बाजा बजाएर बोडे र यहाँको कमल पोखरी परिक्रमा गरि खुसीयाली मनाएको जानकारी दिएका छन् ।

प्रतिकृया