‘चपली हाइट ३’ मा सौगात, श्रृष्टी र प्रियंका
प्रकाशित मिति
२०७६ असार १० गते, मंगलवार १०:५५
निर्माता अर्जुन कुमारले चलचित्र ‘फाटेको जुत्ता २’ को निर्माण गर्ने घोषणा गरेपनि फिल्मको निर्माणलाई पछि सार्दै ‘चपली हाइट ३’ निर्माण गर्ने तयारी थालेका छन् । यो फिल्म ‘चपली हाइट’ र ‘चपली हाइट २’ को तेस्रो पार्ट हो । ‘फाटेको जुत्ता’कै अभिनेता सौगात मल्ल र निर्देशक निकेश खड्कालाई लिएर उनले चलचित्र बनाउन लागेका हुन् ।

यी तीनै जनाले फिल्म ‘फाटेको जुत्ता’पछि दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । थ्रिलर र ग्ल्यामर कथामा आधारित भएर निर्माण गर्न लागिएको यस फिल्ममा सुहाउने भएकाले सौगातलाई मुख्य भूमिकामा उतार्न आटेको अर्जुनले जनाएका छन् । ‘चपली हाइट’ जुन नौलो कथामा निर्माण गरिएको थियो त्यसरी नै ‘चपली हाइट ३’ पनि नौलो कथामा निर्माण हुने भएको अर्जुनले थपे ।

मुख्य पात्रका लागि सौगात संगै उनकी प्रेमिका श्रृष्टी श्रेष्ठसँग कुरा चलिरहेको छ । साउन महिनाबाट छायांकन सुरु गर्ने भएकोले सौगातले साउनमा छायांकनको लागि समय दिन सक्ने वा नसक्ने दुविधा उत्पन्न भएको कारण यी दुई फिल्ममा हुने खबर पक्का भएको छैन । फिल्मका लागि अझै ३ जना नयाँ नायिकाको खोजि चलिरहेको छ ।
‘चपली हाइट ३’मा प्रतिक श्रेष्ठ, आमिर गौतम पनि मुख्य भूमिकामा हुने छन् । यसका साथै अभिनेत्री प्रियंका कार्कीलाई पनि सानो भूमिकामा देख्न सकिने भएको छ । फिल्मको निर्माण टिमले केही दिनमा निर्माता कुमारको बर्थडेमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको निर्माण घोषणा गर्नुका साथै फिल्मका कलाकारहरु सार्वजनिक गर्ने बताएका छन् । फिल्मलाई पुषमा रिलिज गर्ने भनिएको छ ।




प्रतिकृया