छठका लागि सजाइए जनकपुरधामका पोखरी
प्रकाशित मिति
२०७८ कार्तिक २१ गते, आईतवार ११:५३
२१ कार्तिक २०७८ जनकपुरधाम : छठ पर्वको लागि जनकपुरधामका पोखरीहरु सिँगारिएको छ। आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्वको लागि जनकपुरधामका पोखरीहरु सजाउने काम अन्तिम चरणमा पुगेको छ। पोखरी नभएको ठाउँमा नदी, कुँवालगायतका पानीको स्रोतलाई सफा गरी सजाइएको छ।

चार दिनसम्म मनाइने छठ पर्व सोमबार ‘नहाय खाए’ विधिबाट सुरु हुन्छ। छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकोले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा लिइन्छ। यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ गर्छन्। दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको सूर्य र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिन्छन्।

तराई मधेससहित अहिले देशभर छठ पर्व मनाउन थालिएको छ। यद्यपि जनकपुरधामको छठ पर्व नेपालमै सबैभन्दा प्रसिद्ध रहेको छ। जसको लागि यहाँ हप्तौं पहिलेदेखि तयारी सुरु गरिन्छ। छठ पर्वको लागि यस वर्ष जनकपुरधामको ऐतिहासिक पोखरी गंगा सागर, अरगजासर, दशरथ तलाउ, नोचा पोखरीलगायतका सरोवरहरुमा सजावटको काम अन्तिम चरणमा पुगेको छ।

छठ पर्व घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोई पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पीठोबाट छठको सामग्रीहरु बनाइने गरिन्छ।

संस्कृतिविद् रामभरोस कापडीले छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको बताउँछन्। यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुखाएर, पिधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्षले नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाएको कापडीले स्पष्ट पारे।

बजारमा छठ पर्वको चहलपहल बढेको छ। यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो। बजारहरुमा बाँस र माटोबाट बनेका सामग्रीहरुको जताततै बिक्री भइरहेको छ। छठ पर्वमा माटोबाट बनेका घैँटो, हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतिलगायतको सामग्री प्रयोग हुन्छ।








प्रतिकृया