आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
प्रकाशित मिति
२०८३ श्रावण २८ गते, बिहीबार ०५:०१
२८ साउन २०८३ काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यसहित नयाँ बजेट ल्याइएको बताएका छन्। बिहीबार आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका उनले जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै यस्तो बताएका हुन्।
अर्थमन्त्री वाग्लेले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक अत्यावश्यक खर्च धान्नुपर्ने विगतको अवस्थालाई अन्त्य गर्न करको दायरा फराकिलो बनाइएको बताए। थोरै–थोरै योगदानबाट राज्यको आम्दानी बढाउँदै आफ्नै स्रोतबाट विकास निर्माण गर्ने नीति सरकारले लिएको उनको भनाइ छ।

उनका अनुसार जनताको विकाससम्बन्धी अपेक्षाको तुलनामा मुलुकको आर्थिक सामर्थ्य कमजोर छ भने दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो हुँदै गएको छ। यस्तो अवस्थामा नेपाल आफैँ आर्थिक रूपमा सबल बन्नुको विकल्प नरहेको उनले बताए।

‘ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व १३ खर्ब ५० अर्ब रुपैयाँ छ, तर सरकारको आम्दानी करिब १२ खर्ब ५० अर्ब मात्रै छ,’ उनले भने।
करको दायरा विस्तार र कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम त्यसैको उद्देश्य रहेको उनले स्पष्ट पारे। ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै माथि उठ्नुपर्ने उनको भनाइ छ।
नयाँ क्षेत्रमा कर थपिएको भन्दै उठेका गुनासाप्रति सरकार संवेदनशील रहेको बताउँदै वाग्लेले सर्वसाधारणलाई अनावश्यक अन्तिम कर दायित्वबाट बचाउनेमा आश्वस्त रहन आग्रह गरे।
सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको उनले बताए। साथै, छिट्टै प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्ने वातावरण निर्माण गरिने जानकारी उनले दिए।




प्रतिकृया