गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा सांसद पार्वती विक
प्रकाशित मिति
२०८३ असार २६ गते, शुक्रबार ०१:५६
२६ असार २०८३ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपाकी सांसद पार्वती विकले सरकारले बढाएको ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण एक युवाले अकालमै ज्यान गुमाउनुपरेको दाबी गरिन्।
उनले गणेश नेपालीले मोटरसाइकल पार्किङको विषयमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको र त्यसबाट उत्पन्न मानसिक तनावले उनलाई आत्मदाहजस्तो कदम चाल्न बाध्य बनाएको आरोप लगाइन्।

‘१० हजार रुपैयाँको जरिवानाले उनलाई कति ठूलो मानसिक दबाब दियो होला? यो केवल जरिवानाको विषय होइन, राज्यको संवेदनहीनताको परिणाम हो,’ सांसद विकले भनिन्। उनका अनुसार ट्राफिक जरिवाना निर्धारण गर्दा कसुरको प्रकृति र गम्भीरतालाई पर्याप्त रूपमा विचार नगर्दा यस्ता दुःखद घटना निम्तिएको हो।

सांसद विकले गणेश नेपालीको मृत्युलाई केवल एक व्यक्तिको मृत्यु नभई राज्यको उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न भएको बताउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिन्। यसै क्रममा उनले राष्ट्रियताको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
साथै, सुस्तामा भारतीय सुरक्षा बलको प्रवेश तथा दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले अनुमति बिना उडान भरेको विषयमा सरकारले कूटनीतिक नोट पठाएको वा नपठाएकोबारे स्पष्ट जवाफ दिन पनि उनले माग गरिन्।




प्रतिकृया