गगन थापा: गणेश नेपालीको मृत्यु राजनीतिक बहस होइन, हाम्रो सामूहिक आत्मचिन्तनको विषय हो
प्रकाशित मिति
२०८३ असार २६ गते, शुक्रबार ०१:५१
२६ असार २०८३ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधनलाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले यो घटना एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय भएको बताएका छन्।
उनका अनुसार यो घटनाले समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको छ। ‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ थापाले उल्लेख गरेका छन्। उनले मृतक गणेश नेपालीका आश्रित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको दुःखमा साथ दिन र सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

थापाले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन्। उनले एउटा युवा किन यति निराशाको अवस्थामा पुग्छ, आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने परिस्थिति किन सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले किन नागरिकलाई भरोसा दिन सकिरहेका छैनन्, र समाज, परिवार तथा राज्यका रूपमा कहाँ कमजोरी रह्यो भन्ने गम्भीर प्रश्न उठाएका छन्।

यी प्रश्नहरूको इमानदार उत्तर खोज्दै भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ।




प्रतिकृया