• २७ असार २०८३, शनिबार
  • १२:५५ बिहान

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार १२:१९

२६ असार २०८३ काठमाडौं – आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारका क्रममा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएपछि उनको मृत्यु भएको हो।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गर्दै नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो। चिकित्सकहरूले उनको अवस्था अत्यन्त नाजुक रहेको भन्दै बचाउन कठिन भइरहेको बताएका थिए।

Kamana Sewa

नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उनको उपचार चुनौतीपूर्ण बनेको थियो। उनलाई वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

Classic Tech Desktop

उनको उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली परिचालन गरिएको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहभागी थिए।

स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारीसमेत गरिएको थियो। सरकारले एयर एम्बुलेन्सदेखि आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाएको भए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले चिकित्सकहरूको सल्लाहमा उनलाई स्थानान्तरण गर्न सम्भव भएको थिएन। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः उनको उपचारकै क्रममा निधन भएको हो।

प्रतिकृया