पोर्चुगललाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा
प्रकाशित मिति
२०८३ असार २३ गते, मंगलवार ०९:११
२३ असार २०८३ काठमाडौं – स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डलास स्टेडियममा सोमबार राति सम्पन्न अन्तिम–१६ को प्रतिस्पर्धात्मक खेलमा इन्जुरी समयको गोलले स्पेनलाई अन्तिम आठमा पुर्याएको हो।
स्पेनको जितमा मिकेल मेरिनो नायक बने। उनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे, जुन खेलको एकमात्र गोल सावित भयो। खेलभर स्पेनले बल नियन्त्रण, अवसर सिर्जना र सट प्रहारमा पोर्चुगलमाथि स्पष्ट दबाब बनाएको थियो। अन्तिम समयमा आएको गोलसँगै स्पेनले जित हात पार्दा पोर्चुगलको विश्वकप यात्रा अन्तिम–१६ मै टुंगिएको छ।

यो हारसँगै पोर्चुगल सन् २०२२ को विश्वकपमा बनाएको क्वार्टरफाइनल यात्रालाई दोहोर्याउन असफल रह्यो। उता, स्पेनले भने १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो। सन् २०१० मा विश्वकपको उपाधि जितेपछि स्पेन पहिलो पटक अन्तिम आठमा पुगेको हो।

सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ दुवै संस्करणमा अन्तिम–१६ बाटै बाहिरिएको थियो। यसपटक भने पोर्चुगललाई पराजित गर्दै स्पेनले उपाधि यात्रालाई निरन्तरता दिएको छ।




प्रतिकृया