राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
प्रकाशित मिति
२०८३ असार १९ गते, शुक्रबार १२:२३
१९ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म बोलकबोल गराई ऋणपत्र निष्कासन गरिनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।
एक वर्ष अवधिको उक्त ऋणपत्रको साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा न्यूनतम पाँच करोड रुपैयाँ र त्यसपछि पाँच करोड रुपैयाँका दरले कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र धितोका रूपमा प्रयोग गर्न सकिनेछ। साथै, यसलाई वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न मिल्ने भए पनि अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न नमिल्ने व्यवस्था गरिएको छ।








प्रतिकृया