• १९ असोज २०८३, सोमबार
  • ८ः२६ बिहान

प्रतिनिधिसभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने तयारी

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार १२:१५

१७ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाले आज चार वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ। सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकलाई दफावार छलफलपछि पारित गर्ने तयारी गरिएको हो।

National Life

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि विधेयकमाथि दर्ता भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी विधेयक पारित गर्ने प्रस्ताव राखिनेछ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल र पारितको प्रस्ताव पेश गर्ने कार्यसूची छ। विधेयकमाथि प्राप्त संशोधनमाथि निर्णय गरेपछि पारितका लागि प्रस्ताव प्रस्तुत गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। सो विधेयक पनि आजै दफावार छलफल सम्पन्न गरी पारित गर्ने तयारी छ।

त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल र पारितको प्रस्ताव सदनमा पेश गर्नेछिन्। यी चारवटै विधेयक संसद् अधिवेशन नभएका बेला सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका विधेयक हुन्। सरकारले त्यतिबेला आठ वटा अध्यादेश जारी गरेको थियो, जसमध्ये चार वटा अध्यादेश प्रतिस्थापन विधेयक अहिले संसद्मा विचाराधीन छन्।

प्रतिनिधिसभाबाट पारित भएपछि विधेयकहरू राष्ट्रियसभामा पठाइनेछन्। राष्ट्रियसभाबाट पनि पारित भएपछि पुनः प्रतिनिधिसभामा फर्किने र सभामार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ती विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछन्।

प्रतिकृया