• १६ असोज २०८३, शुक्रबार
  • ५ः३९ बेलुका

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार ०१:०४

१० असार २०८३ काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा चालु आर्थिक वर्षको पहिलो ११ महिनामै २५ अर्ब ५५ करोड ९९ लाख रुपैयाँभन्दा बढी मूल्यका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

National Life

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा विभिन्न क्षमताका विद्युतीय सवारी नेपाल भित्रिएका छन्। तथ्यांकले पेट्रोलियम इन्धनमा आधारित सवारीको विकल्पका रूपमा ईभीको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको देखाएको छ।

विभागका अनुसार समीक्षा अवधिमा ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारी आयात भएका छन्। यी सवारीको कुल आयात मूल्य पाँच अर्ब ६५ करोड रुपैयाँ रहेको छ। तुलनात्मक रूपमा कम मूल्यका तथा सहरी प्रयोगका लागि उपयुक्त मानिने यस श्रेणीका गाडी नेपाली बजारमा लोकप्रिय बनेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यस वर्गका सवारीको कुल आयात मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ पुगेको छ। कुल आयातित ईभीमध्ये संख्या र मूल्य दुवैका हिसाबले यही वर्गको हिस्सा सबैभन्दा बढी रहेको विभागको तथ्यांकले देखाएको छ।

नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न कर तथा भन्सार संरचनामा सहुलियत दिँदै आएको छ। साथै, देशभर चार्जिङ पूर्वाधार विस्तार हुँदै जानु र इन्धन खर्चमा उल्लेखनीय बचत हुने भएकाले पछिल्ला वर्षहरूमा ईभीको माग तीव्र रूपमा बढेको देखिन्छ। निजी क्षेत्रका अटोमोबाइल व्यवसायीहरूले पनि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ विद्युतीय गाडी नेपाली बजारमा भित्र्याइरहेका छन्। यसले उपभोक्तालाई थप विकल्प उपलब्ध गराउनुका साथै नेपालमा विद्युतीय सवारीको बजार विस्तारमा समेत टेवा पुगेको छ।

विशेषज्ञहरूका अनुसार सरकारी नीतिगत समर्थन, बढ्दो जनचेतना र सञ्चालन खर्चमा हुने बचतका कारण आगामी वर्षहरूमा पनि नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र आयात थप बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया