• १० असार २०८३, बुधबार
  • २:०५ बेलुका

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार ११:४३

१० असार २०८३ काठमाडौं – बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ७९ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

Kamana Sewa

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदरमा प्राप्त बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी हुन गएमा ‘प्रो–रेटा बेसिस’मा बाँडफाँड गरिनेछ।

Classic Tech Desktop

संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २६ गते गरिनेछ। भुक्तानीका दिन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा निर्धारित ब्याजसहित रकम जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक भएपछि बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

प्रतिकृया