• १० असार २०८३, बुधबार
  • २:३२ बेलुका

कांग्रेसले सार्वजनिक गर्‍यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार १२:५२

१० असार २०८३ काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाले जारी गरेको कार्यतालिकाअनुसार सदस्यता सम्बन्धी विभिन्न कामहरू असार २० गतेसम्म सम्पन्न गरिने भएका छन्।

कांग्रेसका अनुसार गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। साथै, नवीकरण हुन बाँकी रहेका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनका क्रममा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि सोही अवधिभित्र टुंग्याइनेछ।

Kamana Sewa

त्यस्तै, नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ सदस्यता वितरणका साथै कांग्रेससँग समाहित भएका र पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको काम पनि असार २० गतेभित्र सम्पन्न गरिने पार्टीले जनाएको छ।

Classic Tech Desktop

कार्यतालिकाअनुसार अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने प्रक्रिया भने असार महिनाभर सञ्चालन हुनेछ।

विशेष महाधिवेशनपछि सदस्यता व्यवस्थापनलाई थप डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने अभियानअन्तर्गत कांग्रेसले अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिकको काम अघि बढाइरहेको छ। पार्टी नेतृत्वले सदस्यताको तथ्यांकलाई विश्वसनीय, पारदर्शी र अद्यावधिक बनाउने उद्देश्यले यो प्रक्रिया सञ्चालन गरिएको जनाएको छ।

पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर विभिन्न समयमा विवाद हुँदै आएको अवस्थामा सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई कांग्रेसको १५औँ महाधिवेशन तयारीको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कांग्रेसले निर्धारित समयभित्र सदस्यता व्यवस्थापनको काम सम्पन्न गरी आगामी महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र विवादरहित बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिकृया