• २ असार २०८३, मंगलबार
  • १:२७ बिहान

मधेश सरकारले आज ल्याउँदै अहिलेसम्मकै सानो बजेट, आकार ४२ अर्बभित्र सीमित हुने

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार १०:२९

१ असार २०८३ जनकपुरधाम – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ । प्रदेश सरकार स्थापनापछि पहिलोपटक अहिलेसम्मकै सानो आकारको बजेट ल्याउन लागेको हो ।

बजेट प्रस्तुत गर्न आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । बैठकमा अर्थमन्त्री युवराज भट्टराई ले आगामी आर्थिक वर्षको आय–व्यय विवरण पेश गर्ने कार्यसूची रहेको छ ।

Kamana Sewa

अर्थ मन्त्रालय स्रोतका अनुसार चालु र पुँजीगत खर्च समेटेर करिब ४१ अर्बदेखि ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको छ । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन तथा यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको बताइएको छ ।

Classic Tech Desktop

गत आर्थिक वर्ष २०८२/०८३ का लागि मधेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर राजस्व संकलन र स्रोत व्यवस्थापन अपेक्षाअनुसार हुन नसक्दा करिब १२ अर्ब रुपैयाँको बजेट घाटा देखिएको थियो । त्यसपछि सरकारले विकास निर्माणका अधिकांश योजनामा २० प्रतिशतसम्म बजेट कटौती गर्नुपरेको थियो ।

स्रोतका अनुसार विगतमा क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउँदा कार्यान्वयनमा समस्या देखिएकाले यसपटक यथार्थपरक र कार्यान्वयनयोग्य बजेटमा जोड दिइएको छ ।

आगामी बजेटमार्फत उपभोक्ता समितिमार्फत सञ्चालन हुने साना योजनाको संख्या घटाउने तयारी पनि गरिएको छ । विकासे योजनाका विभिन्न शीर्षकलाई एकीकृत गरी कम्तीमा एक करोड रुपैयाँभन्दा माथिका योजनालाई प्राथमिकता दिने रणनीति प्रदेश सरकारले लिएको जनाएको छ ।

आर्थिक चुनौतीबीच ल्याउन लागिएको बजेटले प्रदेशको विकास, वित्तीय अनुशासन र योजना कार्यान्वयन क्षमतामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ ।

प्रतिकृया