यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ बैशाख २८ गते, सोमबार ०९:१४
२८ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभाग ले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव सक्रिय रहेको जनाएको छ । साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको हो ।
हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ । ती प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।








प्रतिकृया