• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

आजदेखि दोस्रो चरणमा नदी किनारका बस्ती स्थानान्तरण सुरु

प्रकाशित मिति

२०८३ बैशाख १८ गते, शुक्रबार १०:१६

१८ बैशाख २०८३ काठमाडौं- सरकारले काठमाडौँ उपत्यकाभित्रका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू आजदेखि दोस्रो चरणअन्तर्गत स्थानान्तरण गर्न सुरु गरेको छ। सहरी विकासमन्त्री सुनिल लम्सालका अनुसार पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्तीहरू स्थानान्तरण गरिसकिएकाले अब दोस्रो चरणको काम अघि बढाइएको हो।

बस्ती स्थानान्तरण प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार सहरी विकास मन्त्रालयमा विभिन्न सरकारी निकायबीच संयुक्त बैठक बसेको थियो। बैठकले आवश्यक सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेपछि आजदेखि कार्यान्वयन सुरु गरिएको मन्त्रालयले जनाएको छ।

Kamana Sewa

मन्त्रालयका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशालामा ल्याइनेछ। त्यहाँ तीनवटा सहायता कक्ष सञ्चालन गरिनेछन्—पहिलो कक्षमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रो कक्षमा सुकुम्वासी पहिचानका लागि स्वघोषणा फारम भर्ने र आवश्यक सामाजिक विवरण सङ्कलन, तथा तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिने व्यवस्था गरिएको छ।

Classic Tech Desktop

त्यसैगरी, होल्डिङ सेन्टरमा लैजान नसकिने सामग्री जस्तै दराज, टेबुल र खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकाय परिचालन गरिनेछ। आश्रयस्थल नभएका वा आफैं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन पनि बसको व्यवस्था गरिएको छ।

मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवा पनि उपलब्ध गराउने जनाएको छ। यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा सञ्चालन हुनेछन्।

सङ्कलित विवरणका आधारमा सुकुम्वासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ भने पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग उपलब्ध गराई पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइनेछ।

मन्त्रालयले नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने पनि स्पष्ट पारेको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै नदी किनार तथा सार्वजनिक, पर्ति, सरकारी वा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा आज साँझसम्म खाली गर्न आग्रह गरेको थियो।

प्रतिकृया