• ६ असोज २०८३, मंगलबार
  • ८ः१४ राती

इन्धन मूल्यवृद्धिसँगै आयल निगम संकटमा, खपत घटाउन अपिल

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०३:४०

२७ चैत,२०८२ काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको तीव्र वृद्धिसँगै नेपाल आयल निगम गम्भीर वित्तीय संकटमा परेको छ। निगमले सार्वजनिक अपिल जारी गर्दै खपत नघटाए र मूल्य समायोजन नगरे इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्न नसक्ने र इन्धन आपूर्ति संकट आउन सक्ने चेतावनी दिएको छ।

National Life

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार ३० मार्चदेखि ८ अप्रिल २०२६ सम्मको मूल्य वृद्धिको आधारमा निगमलाई पाक्षिक करिब १४ अर्ब अर्थात दैनिक ९३ करोड रुपैयाँ घाटा हुने देखिएको छ। सरकारले भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेकाले त्यसको प्रभाव सीमित भएको जनाएको छ।

यही परिस्थितिमा निगमले चैत २६ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र हवाई इन्धनमा ६ रुपैयाँ मूल्य वृद्धि गरेको छ। मूल्य वृद्धि पछि पनि निगमलाई अझै पाक्षिक करिब ८ अर्ब घाटा रहने प्रक्षेपण गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निगमले ८ अप्रिलमा आईओसीलाई २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने आगामी २३ अप्रिलका लागि थप १६ अर्ब ३७ करोड रुपैयाँ व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको जनाएको छ।

छिमेकी देशहरू श्रीलंका, पाकिस्तान र बंगलादेशले इन्धन संकट व्यवस्थापनका लागि कोटा प्रणाली, जोर–बिजोर सवारी सञ्चालन तथा अनलाइन कक्षा जस्ता उपाय अपनाएको स्मरण गराउँदै निगमले नेपाली उपभोक्तालाई पनि मितव्ययिता अपनाउन आग्रह गरेको छ।

निगमका अनुसार यदि एक बाइकले दैनिक १ लिटर र एक गाडीले १ लिटर इन्धन बचत गरेमा राज्यले दैनिक २६ करोड रुपैयाँ बचत गर्न सक्छ। यसरी १५ दिनमा ३९० करोड रुपैयाँ बचत सम्भव हुने भन्दै निगमले अनावश्यक सवारी प्रयोग नगर्न र इन्धन खपत घटाउन सबैसँग अपिल गरेको छ।

प्रतिकृया