बादलको अभिव्यक्तिप्रति भट्टराई आक्रोशित, एमालेभित्र बहस चर्किने संकेत
प्रकाशित मिति
२०८२ चैत्र २६ गते, बिहीबार १०:३५
२३ चैत,२०८२ काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण पार्टीको नीति र परम्पराविपरीत रहेको बताएका छन्।
उनले चैत २५ गते पोखरामा आयोजित जिल्ला कमिटीको भेलामा बादलले प्रयोग गरेका ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता शब्दावली एमालेको विचार र अभ्याससँग नमेलिने उल्लेख गरे। उनले एमालेले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित राजनीति गर्ने स्पष्ट पार्दै कब्जा वा आक्रमणको भाषा पार्टीको नीति नभएको बताएका छन्। “हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौं। आक्रमण होइन, शान्तिपूर्ण संघर्षबाट विजय हासिल गर्छौं,” उनले उल्लेख गरेका छन्।

भट्टराईले आफूले कार्यवाहक अध्यक्षलाई सिकाउन खोजेको नभए पनि युद्धकालीन शैलीको भाषा एमालेको नीति हुन नसक्ने बताएका छन्। साथै, उनले बादलले पार्टीको वर्तमान अवस्था र कार्यकर्ता परिचालनको तरिका समेत नबुझेको टिप्पणी गरेका छन्। बादलले यसअघि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रति कटाक्ष गर्दै पार्टीभित्रैबाट एमाले कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका थिए।

भट्टराईले बादललाई आफूले सैद्धान्तिक चेत भएका, कम बोल्ने र भद्र नेताका रूपमा लिएको भए पनि पछिल्लो अभिव्यक्तिले आफूलाई दुःखी बनाएको बताएका छन्। उनले पार्टीको वर्तमान जटिल अवस्थामा नेतृत्वको भूमिका कमजोर देखिएको भन्दै शीर्ष नेतृत्वलाई समेत समयमै ध्यान दिन आग्रह गरेका छन्। भट्टराईको अभिव्यक्तिपछि एमालेभित्र नेतृत्व शैली र भावी कार्यदिशासम्बन्धी बहस थप चर्किने संकेत देखिएको छ। साथै, बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता बनाउने विषयमा समेत आन्तरिक विवाद बढ्दै गएको छ।




प्रतिकृया