यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८२ चैत्र २४ गते, मंगलवार ०९:०२
२४ चैत,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको जनाएको छ । विभागका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली छ ।
गण्डकी प्रदेशका धेरै स्थान, बागमती प्रदेशको पहाडी भू–भागका केही स्थान तथा अन्य हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो पनि देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने र तराईका भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । पहाडी तथा हिमाली भू–भागका थोरै स्थान र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा बदली रहनेछ भने अन्य पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ । विभागले वर्षा, हिमपात तथा चट्याङका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।






प्रतिकृया