गृहमन्त्री सुधन गुरुङका १६ बुँदे निर्देशन, प्रहरीलाई दबाबमुक्त र जनमैत्री बनाउने लक्ष्य
प्रकाशित मिति
२०८२ चैत्र १६ गते, सोमबार ०५:४३
१६ चैत,२०८२ काठमाडौं – गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई दबाबमुक्त, उत्तरदायी र जनमैत्री बनाउन १६ बुँदे निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा आयोजित कार्यक्रममा उनले प्रहरी संगठनभित्रका समस्या समाधान गर्दै व्यावसायिकता सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले तल्लो दर्जाका प्रहरी कर्मचारीको अवस्था सुधारलाई प्राथमिकता दिँदै सेवा–सुविधा वृद्धि गरिने बताए। साथै, सरुवा–बढुवा अब कार्यसम्पादन मूल्याङ्कनका आधारमा मात्रै हुने र बाह्य हस्तक्षेप अन्त्य गरिने स्पष्ट संकेत गरे।

गृहमन्त्रीले प्रहरी–नागरिक सम्बन्ध सुदृढ गर्न सम्मानजनक व्यवहार अपनाउन निर्देशन दिँदै आकस्मिक अवस्थामा प्रहरी सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइने बताए। दंगा नियन्त्रणमा ‘फुल गियर’ बिना प्रहरी नखटाउने, पोषणयुक्त खाना र आवश्यक तालिमको व्यवस्था गर्ने पनि उनले उल्लेख गरे।

साथै, उनले प्रहरी पोसाक स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेका छन्। प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह अब प्रधानमन्त्रीबाट सुशोभन गराउने पहल गर्ने र प्रहरी कर्मचारीका समस्या समाधानका लागि गृहमन्त्रालय २४ सै घण्टा खुला रहने प्रतिबद्धता पनि व्यक्त गरे।
यस्तो छ, १६ बुँदे निर्देशन–
१) कम श्रोत र साधनका बाबजुत विशेष गरी तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको दु:ख पीडालाई नजिकबाट देखेकोले आवश्यक सेवा सुविधाको विषयमा सम्बोधन गर्ने,
२) प्रहरीले जति काम गरेपनि अपजस पाउने दिनको आगामी दिनमा अन्त्य गर्ने,
३) राजनीति दलका नेता सरकार र जनताबाट जथाभावी दवाव दिने तथा पेल्ने गतिविधिको अन्त्य गर्ने,
४) आम नागरिकसँगको प्रहरीको व्यवहार सम्मानजनक हुनेछ,
५) प्रहरीको सवारी साधन कुनैपनि घटनाको तत्कालको परिस्थितिको आधारमा (एम्बुलेन्स नहुँदाको अवस्थामा) एम्बुलेन्सको रूपमा प्रयोग गर्ने,
६) First Responder को रूपमा प्रहरीलाई परिचालन गर्नको लागि आवश्यक तालिमको व्यवस्था गरिने,
७) सरुवा र बढुवाको लागि मन्त्रीज्यूहरूको ढोका ढक्ढकाउने प्रवृत्तिको अबका दिनबाट अन्त्य गरिनेछ,
८) कार्य सम्पादन मूल्याङ्कनको आधारमा सरुवा बढुवा गरिने,
९) न्याय दिने संगठन माथी भएको अन्याय सहिदैन् यो बोली मात्र हैन व्यवहार त लागु हुनेछ,
१०) राज्यको कुनैपनि निकायले कतैबाट प्रहरी संगठनलाई हेप्ने कार्य भएमा त्यसको विरुद्ध लाग्ने,
११) नेपाल प्रहरीको प्रहरी महानिरीक्षकलाई गृहसचिव ज्यू सुशोभन गरिने दर्जानी चिन्ह अब प्रधानमन्त्रीबाट सुशोभन गराउनको लागि आवश्यक पहल गरिने,
१२) प्रहरीको पोषणयुक्त खानाको लागि आवश्यक कदम चालिनेछ,
१३) दंगा नियन्त्रणको अवस्थामा कुनैपनि प्रहरी कर्मचारी बिना फुल गियर र शिल्ड बिना फिल्डमा खटाइने छैन्,
१४) विशिष्ठ व्यक्तिको आवागमनमा नागरिक समानको व्यवहार प्रदर्शन गरिनेछ,
१५) कुनैपनि प्रहरी कर्मचारीलाई समस्या पर्दाको समयमा गृहमन्त्रालयको ढोका २४ सैं घण्टा खुल्ला रहनेछ,
१६) प्रहरी कर्मचारीले प्रयोग गर्ने पोसाक प्रहरी आफैले उद्योग खोलेर नेपालमै उत्पादन गरी प्रयोगमा ल्याइनेछ त्यस्ता उद्योग नेपालको ग्रामीण क्षेत्रमा खोलिनेछ ।




प्रतिकृया