बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक: जनमुखी निर्णय के–के आउँदैछन्?
प्रकाशित मिति
२०८२ चैत्र १३ गते, शुक्रबार ११:०२
१३ चैत,२०८२ काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथअघि नै पहिलो मन्त्रिपरिषद् बैठकबाट गरिने निर्णयहरूको तयारी थालेका छन्। उनको सचिवालय स्रोतका अनुसार विभिन्न मन्त्रालयहरूबाट तत्काल गर्न सकिने कामहरूको विवरण संकलन गरिएको छ।
मुख्यसचिव सुमन अर्यालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयलाई जनमुखी तथा छिटो कार्यान्वयन गर्न सकिने योजनाहरू पठाउन पत्राचार गरेको थियो। मन्त्रालयहरूले एक–दुई पृष्ठमा तत्काल गर्न सकिने काम, त्यसको जनतामा पर्ने प्रभाव र सम्भावनासहित प्रस्ताव पठाइसकेका छन्।
संकलित प्रस्तावहरू प्रधानमन्त्रीको सचिवालयमा पुगेका छन्, जहाँ विज्ञ टोली र कर्मचारीहरूले उपयुक्त योजनाहरू छनोट गरी मन्त्रिपरिषद्मा प्रस्तुत गर्ने तयारी भइरहेको छ। स्रोतका अनुसार केही मन्त्रालय गाभेर सरकारलाई छरितो बनाउने, पासपोर्ट, नागरिकता र राष्ट्रिय परिचयपत्र जस्ता सेवा प्रभावकारी बनाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने लगायतका विषयमा प्रस्ताव आएका छन्।
यसैबीच, सुशासन मार्गचित्र (गुड गभर्नेन्स ब्लु प्रिन्ट) समेत प्रधानमन्त्रीको सचिवालयमा पुगेको छ। विगतका भ्रष्टाचार अनुसन्धान तथा गैरकानूनी सम्पत्ति छानबिनसम्बन्धी विषयमा पनि छलफल भइरहेको जनाइएको छ। पहिलो मन्त्रिपरिषद् बैठकबाट कुन निर्णय तत्काल हुन्छ र कुन विषय थप छलफलपछि अघि बढाइन्छ भन्ने अन्तिम टुंगो भने प्रधानमन्त्री शाह र उनको टोलीले गर्नेछन्।







प्रतिकृया