तीन दिन मौसम बदली: तीव्र हावाहुरी, वर्षा र हिमपातको चेतावनी
प्रकाशित मिति
२०८२ चैत्र ५ गते, बिहीबार ०५:५४
५ चैत,२०८२ काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर मौसम बदलीसँगै भोलिदेखि तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बिहीबार जारी विज्ञप्तिअनुसार आगामी तीन दिन देशका विभिन्न भागमा मौसमको प्रभाव देखिनेछ।
शुक्रबार विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको जनाइएको छ।
यसैगरी, शुक्रबारदेखि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ। प्राधिकरणका अनुसार हावाको गति झन्डै ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ। शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा पनि यस्तै प्रकृतिको हावाहुरीको सम्भावना रहेको छ।
प्रि–मनसुन अवधिका कारण तीव्र हावाहुरीसँगै विभिन्न जोखिम बढ्ने प्राधिकरणले जनाएको छ। हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम उच्च रहने बताइएको छ। पछिल्ला दिनहरूमा हावाहुरीकै कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै प्राधिकरणले सचेत रहन आग्रह गरेको हो।
प्राधिकरणले अनावश्यक रूपमा यात्रा नगर्न, हावाहुरी चल्दा घरका झ्यालढोका राम्रोसँग बन्द गर्न र आगोका स्रोतहरू सुरक्षित रूपमा बन्द गर्न अनुरोध गरेको छ। सवारीसाधन चलाइरहेका बेला हावाहुरी आए सुरक्षित स्थानमा रोकिन, भीडभाडमा नआत्तिन र शान्त रूपमा सुरक्षित स्थानतर्फ सर्न पनि सुझाव दिइएको छ।
त्यसैगरी, कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा र तारमुनि नबस्न, लत्रिएको तार नछुन, विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन विशेष आग्रह गरिएको छ।







प्रतिकृया