आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै आयोग
प्रकाशित मिति
२०८२ चैत्र ५ गते, बिहीबार ०९:२१
५ चैत,२०८२ काठमाडौं- निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ। आयोगले बिहान समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि दिउँसो राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्ने तयारी गरेको हो। सोही अवसरमा आयोगले साँझ पत्रकार सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ।
प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएसँगै नेपालको संविधान, २०७२ को धारा ७६(१०) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्नेछ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जित्दै दुई तिहाइ नजिकको जनादेश प्राप्त गरेको छ। समानुपातिकतर्फ आयोगले ११० जना सांसदलाई प्रमाणपत्र दिनेछ, जसमा रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाबाट ४/४ जना निर्वाचित भएका छन्।
यसैबीच नवनिर्वाचित सांसदहरूको शपथ चैत्र १२ गते आसपास गराउने र नयाँ प्रतिनिधिसभाको पहिलो बैठक चैत्र १५ गते बस्ने तयारी गरिएको छ। संसद अधिवेशनका लागि सिंहदरबारस्थित निर्माणाधीन संसद भवन नजिक अस्थायी हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।







प्रतिकृया