कम्बोडियाबाट नेपालीको उद्धार, बैंककस्थित दूतावासको पहलमा स्वदेश फिर्ता
प्रकाशित मिति
२०८२ चैत्र ५ गते, बिहीबार १०:२८
कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपाली नागरिकको उद्धार गरिएको छ। विभिन्न प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा सुरक्षित रूपमा फिर्ता ल्याइएको हो।
दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरू अनलाइन स्क्यामिङ केन्द्र, ठगीसम्बन्धी क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका थिए भने केही विनाभिसा बसिरहेका थिए।
कम्बोडिया सरकारको सहयोग तथा दूतावासको सक्रियतामा उनीहरूको उद्धार सम्भव भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बुधबार काठमाडौं पठाइएको थियो र शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
दूतावासले कम्बोडियामा अझै अन्य नेपाली अलपत्र परेको सूचना प्राप्त भएको र उनीहरूको उद्धारका लागि पहल भइरहेको जनाएको छ।
साथै, कठिन अवस्थामा रहेका नेपालीहरूलाई बैंककस्थित दूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
कम्बोडियामा नेपालीहरूको आवागमन पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। पर्यटनसम्बन्धी तथ्यांकअनुसार सन् २०२१ मा १०१ जना नेपाली पुगेका थिए भने २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ जना पुगेका छन्।
दूतावासले कुनै पनि प्रलोभनमा नपरी नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा जान सर्वसाधारणलाई सचेत गराएको छ।








प्रतिकृया