कांग्रेस सभापति गगन थापाको राजीनामा, केन्द्रीय समितिले गर्ने निर्णय
प्रकाशित मिति
२०८२ चैत्र ५ गते, बिहीबार ०९:०३
५ चैत,२०८२ काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै उनले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।
कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएसँगै थापाले राजीनामा दिएका हुन्। यद्यपि उनको राजीनामा औपचारिक रूपमा सार्वजनिक भने गरिएको छैन। यसअघि थापाले राजीनामा दिने प्रस्ताव गर्दा उपसभापति शर्माले राजीनामा नदिन सुझाव दिएका थिए। अब भने थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय केन्द्रीय समितिले गर्नेछ।
कांग्रेसको विधानअनुसार सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने व्यवस्था छ। विधानको धारा २६ मा सभापतिको राजीनामासम्बन्धी प्रावधान उल्लेख गरिएको छ।
यदि केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापति शर्माले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्। साथै, छ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाएर नयाँ सभापति चयन गरिनेछ।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट थापा निर्विरोध सभापति बनेका थिए। उनको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई विवादका बीच निर्वाचन आयोगले मान्यता दिएको थियो।
तर संस्थापन पक्षका नेता पूर्णबहादुर खड्काले उक्त महाधिवेशन अवैधानिक भएको दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।







प्रतिकृया