काबुलस्थित अस्पतालमा हवाई आक्रमण : ४०० जनाको मृत्यु भएको अफगानिस्तानको दाबी
प्रकाशित मिति
२०८२ चैत्र ३ गते, मंगलवार ०९:४९
काबुल । अफगानिस्तान को राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताको उपचार गर्ने एक अस्पतालमा सोमबार राति भएको हवाई आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ।
अफगानिस्तानका अनुसार उक्त आक्रमण पाकिस्तान ले गरेको हो। तर पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोप अस्वीकार गर्दै आफ्ना कारबाहीहरूमा कुनै पनि गैरसैनिक क्षेत्रलाई लक्षित नगरेको दाबी गरेको छ।

अफगानिस्तानका उपसरकारी प्रवक्ता हमदुल्लाह फितरत ले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै स्थानीय समयअनुसार राति करिब ९ बजे अस्पतालमा हवाई आक्रमण भएको बताएका छन्। उनका अनुसार २ हजार शय्या क्षमताको उक्त अस्पतालको ठूलो भाग आक्रमणबाट नष्ट भएको छ। हालसम्म ४०० जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएको बताइएको छ।

स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेका भिडियो फुटेजमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको तथा दमकलकर्मीहरूले भत्किएको भवनको भग्नावशेषमा लागेको आगो निभाउने प्रयास गरिरहेको देखिन्छ। उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र शव निकाल्न निरन्तर खटिएको फितरतले बताएका छन्।
यसैबीच, अफगानिस्तान र पाकिस्तानबीचको तनावपूर्ण अवस्था झन् बढेको छ। दुई छिमेकी देशबीच वर्षौँयताकै सबैभन्दा घातक झडप तेस्रो हप्तामा प्रवेश गरेको बताइएको छ। उक्त हवाई आक्रमण हुनुअघि नै साझा सीमा क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएको थियो, जसमा अफगानिस्तानतर्फ चार जनाको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन्।
अफगान सरकारले उक्त घटनाको कडा निन्दा गर्दै पाकिस्तानले आतंक फैलाउन अस्पताल तथा अन्य नागरिक संरचनालाई लक्षित गरेको आरोप लगाएको छ।




प्रतिकृया