राष्ट्रिय प्रकृति संरक्षण कोषको नियुक्ति गलत : सांसद महावीर पुन
प्रकाशित मिति
२०८२ चैत्र २ गते, सोमबार ०९:४४
२ चैत,२०८२ काठमाडौं- सांसद महावीर पुन ले राष्ट्रिय प्रकृति संरक्षण कोष को कार्यकारी प्रमुख पदमा गरिएको नियुक्ति गलत भएको बताएका छन्। उनले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श कुमार श्रेष्ठ लाई उक्त पदमा गरिएको नियुक्ति शतप्रतिशत गलत भएको टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुनले श्रेष्ठलाई उक्त पद नलिन आग्रह गरेका छन्। प्रधानमन्त्रीको सम्मान जोगाउन यस्तो सानो लोभ त्याग्नुपर्ने भन्दै उनले यसले कमाएको ऐतिहासिक प्रतिष्ठा धुलोमा नमिसियोस् भन्ने उल्लेख गरेका छन्।
पुनले लेखेका छन्, “प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो। आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाका खातिर त्यो पद नलिउ।”
उनले नातावाद, चाकरी, कृपा र चापलुसीका कारण पुराना राजनीतिक दलहरू कमजोर बनेको उल्लेख गर्दै यही प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि भविष्यमा कमजोर हुने चेतावनी दिएका छन्।
पुनले आफूले सचेत गराउने उद्देश्यले यस्तो धारणा सार्वजनिक गरेको भन्दै आगामी दिनमा सरकारले यस्ता नियुक्ति गर्दा विवेक प्रयोग गर्नुपर्ने बताएका छन्।







प्रतिकृया