घिसिङद्वारा उज्यालो नेपाल पार्टीको चुनाव समीक्षा: हार भए पनि जनताको मन जितियो
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार ०१:४२
२६ फाल्गुन,२०८२ काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना दिएका छन्।
उनले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने स्पष्ट पारेका छन्। घिसिङले लामो स्टाटसमा देशको प्रशासनिक र विकास प्रणालीको आलोचना गर्दै भने, “एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले देशको विकास रोकेको छ। हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो। यही कारण बजेट खर्च हुन सकेको छैन र जनताको आशा बारम्बार निराशामा बदलिँदै आएको छ।”
उनले आफ्नो पार्टी काम र परिणाम दिने प्रतिबद्धतासाथ चुनावमा होमिएको उल्लेख गर्दै विगतका उपलब्धिहरू स्मरण गराएका छन्। १८ घण्टा लामो लोडसेडिङ अन्त्य, ५८ प्रतिशतबाट ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण, नेपाललाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बनाउनु, बञ्चरेडाँडाको फोहोर व्यवस्थापन अवरोध हटाउनु, मेलम्ची खानेपानी सुचारु गर्नु, तातोपानी नाका खुलाउनु र अलपत्र आयोजनाका ठेक्का तोड्नु जस्ता उपलब्धि उनले प्रस्तुत गरेका छन्।
विपरीत परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री, सुरक्षा निकाय र मतदातालाई धन्यवाद दिंदै घिसिङले छोटो समयमै जनताबाट प्राप्त माया र सद्भावलाई आफ्नो लागि ठूलो ऊर्जा भएको बताए।
निर्वाचनको परिणामबाट आफू निराश नभएको भन्दै उनले “उज्यालो नेपाल निर्माण” अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जेनजी आन्दोलनपछि भएको यो चुनावलाई उनी केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार र अकर्मण्यताविरुद्धको परिवर्तनको अवसरका रूपमा अर्थ्याएका छन्।








प्रतिकृया