• ३१ भदौ २०८३, बुधबार
  • १०ः५२ राती

स्वस्थानी व्रत आज सकिँदै, शालिनदीमा माधवनारायण व्रत पनि समापन

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार ०९:२५

१८ माघ,२०८२ काठमाडौं – माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर–घरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा सम्पन्न गरी समापन गर्न लागिएको हो।

National Life

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका भक्तजनहरूले आज व्रत समापन गर्दैछन्। यसै अवधिमा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा उल्लेखित कुमार र अगस्त्यबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजै टुंगिँदैछ।

विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई भगवतीलाई अर्घ अर्पण गर्ने धार्मिक विधि रहेको छ। चढाइएका प्रसादमध्ये सबै वस्तुबाट आठ–आठ पति, पति नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र कोही नभएमा नजिकको पवित्र नदीमा बगाउने परम्परा छ।

Classic Tech Mobile
Classic Tech Desktop

वर्तालुले आज सय रोटी फलाहार गरी रात्रि जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने चलन पनि छ। यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। स्वस्थानी शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त हुने भएकाले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिलाई स्वस्थानी व्रतका लागि शुभ मानिन्छ।

व्रतकथाअनुसार सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल तथा सिंहासनमा विराजमान देवीलाई स्वस्थानी देवी भनिन्छ। स्वस्थानी व्रत विधिपूर्वक गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोग–व्याधि निको हुने तथा इच्छित वर–वधू प्राप्त हुने विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न स्वस्थानी व्रत गरेको कथा पनि यसमा उल्लेख छ।

नेपाल धर्मशास्त्रीहरूका अनुसार आज मध्याह्नपछि पूजा सम्पन्न गरी रात्रि जाग्राम बसेर सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यस वर्षको स्वस्थानी व्रत औपचारिक रूपमा समापन हुन्छ।

यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदैछ। यहाँ करिब दुई सय महिला तथा पुरुषले एक महिना लामो कठोर व्रत गरेका छन्। आजको दिनलाई नेवार समुदायले ‘सि पुन्हि’ का रूपमा पनि मनाउने गर्दछन्।

प्रतिकृया